झ्यालिन्चा
बाङ्गेलाई बोलाउन अघोरीको घर पुग्या रैनछ। ट्वाककाँ गएँ उ पनि छैन, सुपारीकाँ पुग्या ट्वाक र बाङ्गे सँग बाहिर गयो रे भने। अब भो कि? अब शनिबार के गरी कटाउने लौ? फर्केर घर पुग्या, घराँ अघि बाङ्गे र ट्वाक बोलाउन आ थे भनेर सुनाए। बरबाद भो। के के छुटने भो अब आफ्नो।
फेरी डबली तिर पुगें। कोही छैन। सत्तेनारन थान तिर नि कोही भेटिएनन। भिमसेनथानमा पुग्या लाइबेरी अगाडी एक जोडी लम्फुदाईहरु चेस खेलिरा रेछन् अनि अरु एक हुल बेरोजगारहरु झुरुप्प झुम्मेर बसेका। ठेलठाल गरेर मैले नी एक छिन हेरें। चेस हेर्न खास मजा आएन। चल्दै नचल्दिनि गोटिहरु। खाली घोरिया छ छ। झर्को लाग्यो। अलि पर तिर शिवदाईको घर अगाडी ढल खन्न ला रे छन्। त्यहाँ पनि पाँच छ जना जति भेला भैसक्या। त्यतै लागें। एक छिन भा थ्यो ढल खनेको हेर्या, दुर संचारको पिक आएर मन्दिर अगाडी रोक्यो।
त्यो पनि छुटाउन भएन। कस्ले टेलिफोन जडन लायो। नम्बर कति हुने हो त्यो घरको। अनि त्याँ खम्बामा अब कतिवटा लाईन खालि छ त्यो सबैको जानकारी राख्नै पर्यो। लागें खम्बा तिर। त्यहाँ पनि म जस्ता भेला भै हाले।
हेर्दै थिएँ एउटाले कुममा हात राख्यो। यसो हेर्या छ्याक रे छ। झ्यालिन्चा पनि सँगै। "कस्को घराँ जडन ला रे छ?" छ्याकले सोध्यो। "खै त्यो उपसचिबको घराँ रे" मैले नी बुझ्या कुरो सुनाईदिएँ। "नम्बर कति रे?" छ्याकलाई कत्ति न उसैले फोन गर्ने जस्तो नम्बर चाहियो। "त्यो घराँ त केटी नै छैन, नम्बरको के मतलब?" झ्यालिन्चाले पिच्च थुकेर भन्यो। कुरा त झ्यालिन्चाले ठिक गर्या हो।
"हिन उता पोखरी तिर जाम" छ्याकले भन्यो। म पनि निस्केँ टेलिफोन जडान अवलोकन हुलबाट। "के गर्न चेपागाँडा समात्न?" मैले भन्दा पैला झ्यालिन्चाले सोध्यो। छ्याकले घुरे पछि झ्यालिन्चा चुप लाग्यो। "हिन त" मैले पनि भनें। केई काम थिएन, के त नी? भात भरखर खाकै थ्यो।
"जान्न म त पोखरी सोखरी तिर, बरु बिशालनगर तिर जाम न" झ्यालिन्चाले भन्यो। "किन त्यै डेढीलाई हेर्न?" यस पटक छ्याक जाईलाग्यो झ्यालिन्चा माथि। "छ डेढी तँलाई भनेर, आफ्नो अनुहारमा छर्रा गोली लाग्या था छैन अझ" झ्यालिन्चा भडकियो। अब बिशालनगर तिर गएर छ्याक र मलाई केई न केई। झ्यलिन्चालाई मात्रै फाईदा हुने काम किन गर्ने? बरु पोखरी तिर गयो, सबैको उही ताल। मैले पनि पोखरी तिरै जानेमा बल गरें। मन लागि नलागि झ्यालिन्चा पनि पछि लाग्यो।
लामढुङ्गाँ पुगेसी यसो रातोरातो कागज देखेर मन सिरिङ्ग भै सक्या थ्यो "बच्छी मबिया" झ्यालिन्चाको स्वर एक्कासी कानमा ठोक्कियो। मारोगीले झम्टेर बिसको नोट उठायो। अब भयो भएन बबाल? उस्ले बिस गाँठ भेट्टायो, अझ बच्छी मबिया भन्छ। हामी चै के गर्ने?
"अहिले मबिया भन्दा त एक हुक दिन्छु अनि" छ्याक गर्जियो।
"भेट्या मैले हो क्यारे" झ्यालिन्चाले बिसको नोट च्याप्या मुठी अरु कसेर भन्यो।
"पोखरी तिर जाउँ भनेर कस्ले भन्या? तँ त डेढपाउ हेर्न जान ला थिस" छ्याकले कुरा ल्यायो। "अनि के त? मैले पनि पोखरी तिरै जाने कुरा नगर्या भे भेटथिस तैलें पैसा? कुरा गर्छ" मैले पनि थपें। ठुलो बिबाद भो। हातै हालाहाल होला जस्तो। झ्यालिन्चा एक्लैको केही लागेन, छ्याक र मेरो अगाडी। त्यो पैसामा हामी तिनजना बुढानिलकण्ठ जाने भईम। जाने आउने भाडा र च्या पाउरोटी धान्छ भन्ने ठहर भो। झ्यालिन्चाले सपनामा कहिले हो बुढानिलकण्ठ गाको देख्या रे भनेर त्यै नगैइ भएन उस्लाई। "सपनामा नारनथान देखेर के भो त?" भन्या "त्यसरी सपनामा देखेको भन्या देउताले बोलाको रे क्या" उस्ले भन्यो। कत्ति न नारन उसैलाई पर्खेर बस्या जस्तो।
अब बुढानिलकण्ठ जाने सवारी समात्न कि त जमल तिर पुग्नु पर्थ्यो कि माराजगंज। बिशालनगर तिर बाट हुंदै माराजगंज जाने भैयो। झ्यालिन्चाको बिशालनगर जाने रहर पनि पुरा हुने बाटो पनि काटिने। तरुनी सँग देखा देख भएन, बिशालनगरमा। एक छिन अलमल गर्ने, सिट्ठी बजाउने जे गरे नी तरुनीको दर्शन भएन। भरे फर्केर आउँदा पनि यतै बाट आउँला भन्दै झ्यालिन्चालाई सम्झाए पछि बल्ल मान्यो।
माराजगन्जमा पुगेसी बस आयो। पुगियो बुढानिलकण्ठ। खास भिड थिएन। नारन सँग त खासै लेनदेन थिएन बरु बिचरण गर्दै गरेका केही बालाहरु तिर हेराई बिसाईयो। चिया नास्ता पनि ठिटीहरु भाकै पसलमा गर्नु पर्यो। के गर्ने? हामी खाँदै हेर्दै गर्दै थिम झ्यालिन्चाको एउटी सँग खुबै आँखा जुधे। त्यो ठिटी सपरीबार आकि थिई जस्ति देखिन्थी। झ्यालिन्चा निक्कै जोस्सेको थ्यो। ठिटी आफन्तहरु सँगै पसलबाट निस्किइ उस्का उठेका हेराई झ्यालिन्चामा निमेष भर राखेर ओराली अनि लजालु मुस्कान पनि फ्याँकि झ्यालिन्चा तिर। अघोरी पनि उठ्यो। ठीटीको पछि लाग्नै लाथ्यो, मैले "ए, ए, ए यहाँको पैसा चैं कल्ले तिर्छ नी?" भनेसी अघि त्यो बिस बाट भाडा तिरेर बाँकि भा बार्ह चौध रुप्या कति थ्यो म तिर फ्यात्त फ्याँकेर निस्कियो।
"झ्यालिन्चाले त तरुनी भेट्टायो यार" छ्याकले दिक्क लागेको स्वरमा सुनायो।
"अब उ बुढानिलकण्ठले बोलार आको, हामी यत्तिकै, तरुनी उस्ले नभेटे कस्ले भेटछ त?" मैले नी आफैलाई सान्तवना दिएँ।
"बुढानिलकण्ठ पनि हुँदा हुँदा अब लमिको काम गर्न थाले छन त?" छ्याकले हाँस्दै सोध्यो।
हामी खाई सकेर पसल बाहिर आउँदा झ्यालिन्चा देखिएन। बस जानलाई ढ्याङ्ग ढ्याङ्ग गर्दै थियो। ओरालो तिर अलि अलि गुडदै पनि। छ्याक र मैले हेराहेर गरिम। अनि दौडेर चढिम बसाँ। बाँसबारीमा आए पछि मैले सोधें छ्याकलाई, "अब कसरी आउँछ यार झ्यालिन्चा? त्यो सँग त गाँठ पनि छैन"
छ्याकले ढुक्क सँग भन्यो "आईहाल्छ नी -- हामीजस्तो हो र? उ त नारनले बोलार पुग्या बुढानिलकण्ठ --सके पुस्पकबिमानमा आउला नभए गरुडमा आउँछ भरे।"
******************
Last edited: 28-Apr-08 12:30 PM