बिहान उठेपछि नित्यकर्म गरेर यसो एउटा पत्रिका पल्टाएको त मलाई चार सय चालीस भोल्टको करेन्ट लागेजस्तै भयो । के अचम्म यो ? अचानक यस्तो परिवर्तन कसरी भयो ? हिजो अस्ति छापिने हत्या, अपहरण, लुटपाट, बन्द, पेट्रोल, मट्टितेल, ग्यास, पानी, बत्ती आदिको कमी आदी समाचारहरु आज पत्रिकामा छैनन् । त्यहाँ अर्कै शीर्षक छ - " नेपाली वैग्यानिकहरुको अन्तरीक्षमा जाने तयारी " । अर्को पाना पल्टाएँ त्यहाँ अर्को धमाकेदार शीर्षक थियो - "हेलम्बुका स्याउ अमेरिका निर्यात हुन थाले" । तीन छक्क परें म । हिजोसम्म हेलम्बुका स्याउ काठमाडौं नि ल्याउन नसकेर भारतका स्याउ खाने हामी नेपाली, आज स्याउ निर्यात गर्ने कसरी भयौं । पत्रिका त हिजो अस्ति नि पढेकै हो, मलाई थाहै नभइ नेपालमा विकासको लहर आइसकेको हो त!! नेताहरु नयाँ नेपाल, नयाँ नेपाल भन्थे, केही विश्वास लागेको थिएन, हो पो रै छ, हाम्रो नेपालका नेतापनि केही गर्न सक्ने पो रैछन । अचम्मको र खुशीको मिस्रित भावना मेरो मनमा छताछुल्ल भयो!
फ्रान्ज काफ्काको "मेटामोर्फोसिस" कथामा कथाको पात्र राति सुतेर बिहान उठ्दा साङ्लोमा परिणत भए जस्तै हाम्रो नेपालमा पनि भएको हो कि, पढाइमा व्यस्त भए जस्तै भएर म, आफ्नै देशमा आएको विकासको नौलो लहरसँग पनि अपरिचित हुँ, मैले बुझ्नै सकिन । आज गाइजात्रा वा अप्रिल फस्ट त होइन ? आफैंलाई सोधें मैले । " अहँ होइन, आज त अप्रिल २८, फस्ट अप्रिल सकिइसक्यो, गाइजात्रा आएकै छैन । " फेरि आफैंले उत्तर दिएँ । त्यसैबेला आमाले कोठाभित्र छिर्दै भन्नु भो - "बत्ती किन नबालेकी, म त उठेकै छैनस् भन्ने सोच्दै थिएँ , कलेज जाने बेला भएन ?"
" भयो आमा, अब जान्छु, आज बत्ती जाने दिन भनेर मैले स्वीच अन नै गरिन"
"हैन के भन्छे यो, अब नेपालमा कहिले बत्ती जाँदैन भन्ने थाह छैन तँलाई !! "
झनै छक्क परें म ।
"पत्र-पत्रिका पढ्ने बानी भए पो थाह हुन्छ समाचार, तिमीहरुलाई टिभीमा पनि ढुङ्ग्रे र मुन्द्रे उफ्रेको हेरेरै पुग्दैन " आमाले नि पाको बेलामा व्यङ्ग्य हानिहाल्नु भो । त्यसैले आफूलाई यी कुरा साँच्चै थाह भएको बारे मैले केही भनिन । चुपचाप तयार भएर, चिया सिया खाएर, कलेज तिर हिंडें ।
आज बसस्टप मा धेरै बेर कुर्नु नि परेन । हुल गरेर मारा मार गर्दै बस उक्लिन नि परेन । बसको सीट भरिन नि अलि अलि बाँकि नै थियो । हिजो अस्ति चाबेलबाट कालिमाटीजाने बस पाउन कम्तिमा नि आधा घन्टा त कुर्नै
पर्थ्यो । बसभित्र एउटा तोरीको दाना राख्ने सम्म ठाउँ नहुँदा पनि खलासी "
ओ दिदी अलि उता सर्नु न" भनेको भनै गर्थ्यो । हामी बसमा चढ्ने मान्छे पनि
त उस्तै, आफू बस चढ्ने बेलामा जति सुकै भिड भएपनि चढेरै छोड्थ्यौं, आनि
एकछिन पछि अरुमान्छे आए भने खलासीलाई गाली गर्न थाल्थ्यौं। बढि मान्छे किन
हालेको भन्दै । तर आज एकाएक भएको यो परिवर्तनले साँच्चै भन्दा मैले पचाउनै
सकिरहेकी छैन ।एक्कासी हाम्रो नेपालमा विकसित देशको बस सेवा कहाँ बाट आयो ?
एकदम ठिक समयमा आज कलेज पुगियो । कलेज पुगेपछि एक पछि अर्को छक्क पार्ने कुरा देख्न थालें म । आज कलेजमा मेरा सबै साथीहरु युलिफर्ममा आएका छन् । पहिले पहिले कलेज प्रशासनले जति भन्दा पनि, कानमा तेल हालेर बस्नेहरु, आज पुरै अनिशासित देखिन्छन् । सबै भन्दा बढी हल्लाहुने मा कहलिएको हाम्रो क्लास आज शान्त छ, हल्ला गर्ने साथीहरु नि ध्यान दिएर पढे जस्ता पो देखिन्छन !!
'नेपालमा हुने गरेको रोबोट कम्पीटीसन एकदम सानो स्केलमा छ, कति हामी हामीमात्र कम्पीटीसन गर्ने ? हामीले बाहिरका युनिभर्सिटीहरुलाई पनि समावेश गर्नुपर्छ अब । मैले जापानका दुइवटा युनिभर्सिटीका मान्छेसँग पनि कुरा गरिसकें , रेस्पोन्स पोजेटिभ नै छ । हेरौं न हाम्रा hi-tech रोबोटसँग विदेशीले कसरी कम्पीट गर्छन् ? " क्लासको सबै भन्दा हल्ला गर्ने र क्लास बन्क गर्ने काममा कहलिएको साथीले भन्यो । मैले केही भनिन । आज म कसैलाई केही भन्ने अवस्थामा छैन ।
कलेजमा नितान्त नयाँ अनुभूति लिएर घर फर्कें म । आज शहर निकै सफा र सुन्दर देखियो । धुलो, धुवाँ, ट्राफिक जाम केही छैन आज । सडकको छेउछाउमा जथाभावी पसलहरु छैनन् । मानिसहरुको भिड नि छैन । सबै आँफैमा अनुशासित देखिन्छन् । आहा कस्तो राम्रो परिवर्तन । यस्तै भए त हामी पनि किन जानु अमेरिका ? म नि gre पढ्न आजै छोडिदिन्छु, बेकारको टेन्सन । कुन नेताले ल्याए होलान् हाम्रो देशमा यो परिवर्तन ? पहिले त देशको लागी सोचिदिने नेता पाउनै गार्हो थियो यहाँ । आफूलाई आफ्नै देशको बारेमा थाह नहुनुमा हीनता बोध भए पनि देशको यो परिवर्तन मा भनें मख्ख पर्दैछु म ।
त्यसैबेला पुन: आमाको स्वर सुनियो - " होइन कति बेर सुत्छेस् हँ तँ ? कलेज जान ढिलो भइसक्यो । छिटो उठ् !" मैले आँखा खोलें , लाइन छैन, पानी नि आको छैन, एक मग पानी राखिदेको छु बाथरुममा, तेत्तिले नै मुख धो है " म उठिको देखे पछि भन्नु भो उहाँले!
त्यसपछि म राम्रै सँग ब्युँझिएँ । अगाडिका सबै कुरा त फगत् सपना मात्र पो रहेछन् ।